भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि एडीबीले दियो ५० लाख डलर आपत्कालीन अनुदान

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा गेग्रानसहितको पहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत र प्रारम्भिक पुनःस्थापनाका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ५० लाख अमेरिकी डलर आपत्कालीन अनुदान उपलब्ध गराएको छ ।

एडीबीको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड (एपीडीआरएफ) अन्तर्गतको अनुदानसम्बन्धी सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लाम्साल र नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कोच्वाले हस्ताक्षर गरेका हुन् ।

एडीबीले ‘२०२६ भोटेकोशी बाढी विपद्को आपत्कालीन प्रतिकार्य परियोजना’ अन्तर्गत उक्त अनुदान उपलब्ध गराएको हो । एडीबीले अनुदान गत २८ अगस्टमा स्वीकृत गरेको थियो ।

भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढी तथा गेग्रानसहितको विपद्बाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र क्षतिको मूल्यांकन जारी रहेको छ ।

सरकारले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत तथा प्रारम्भिक पुनःस्थापनाका काम अघि बढाइरहेको छ । एडीबीको अनुदानले प्रभावित क्षेत्रमा आपत्कालीन प्रतिकार्य तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?