बाढीपीडितको पुनःस्थापना झन् चुनौतीपूर्ण छ : गगन थापा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकको पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइबाट रसुवा बाढीपीडितका लागि संकलित रकम पार्टीको विपद् व्यवस्थापन कोषमा बुझ्दै थापाले बाढीपीडितको अवस्था निकै दयनीय रहेको बताए ।

उनले बाढीबाट भएको क्षति भूकम्पभन्दा पनि भयावह रहेको उल्लेख गरे । बाढीले घर, खेतबारी र सम्पत्ति बगाएपछि धेरै नागरिक विद्यालय तथा सार्वजनिक भवनमा आश्रय लिन बाध्य भएको उनको भनाइ छ ।

‘भूकम्पले घर भत्काए पनि जमिन बाँकी रहन्थ्यो, तर बाढीले घरसँगै आश्रय दिने जमिन र गरिखाने खेतबारीसमेत बगाएर लैजाने रहेछ,’ थापाले भने ।

उनका अनुसार कतिपयको ८–९ रोपनीसम्म खेत बगेको छ भने कतिपयको घर र जमिन नै नरहेको अवस्था छ । त्यसैले बाढीपीडितका लागि तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको योजना आवश्यक रहेको उनले बताए ।

भूकम्पपछि घर बनाउन सहुलियत ऋणको व्यवस्था गरिए पनि अहिले कतिपय बाढीपीडितसँग घर बनाउने जमिनसमेत नरहेकाले पुनःस्थापना चुनौतीपूर्ण बनेको थापाले बताए ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट संकलित रकम बाढीपहिरो प्रभावितको राहत तथा सहयोगका लागि कांग्रेसको केन्द्रीय कोषमार्फत परिचालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?