काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक र दर्जाको चिन्ह लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’को वैधानिकता र प्रकृतिबारे प्रश्न उठाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपछि सक्रिय भएको उक्त समूहबारे सरकारसँग स्पष्ट जानकारी मागेका हुन् ।
उनले सैनिक पोशाक र दर्जाको चिन्हसहित उद्धारमा खटिएको समूहबारे प्रश्न उठाउँदै भने, ‘यो ग्रीन आर्मी भनेको के जात हो ? कहाँबाट आयो ? यो प्राइभेट मिलिटरी कम्पनी हो ? अमेरिकाको ब्ल्याकवाटर, रुसको वाग्नर हो कि अथवा के हो ?
नेपालमा नेपाली जनताले एउटै नेपाली सेना चिनेको भन्दै केसीले अन्य कुनै समूहले सैनिक स्वरूपमा गतिविधि गर्नुको प्रकृति र वैधानिकताबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
विपद्का बेला राजनीतिक दलहरूबीच देखिएका विमतिलाई एकीकृत गर्न तथा नीतिगत व्यवस्थापन र अनुगमनका लागि प्रतिनिधि सभाबाट तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनको माग छ ।
सरकारले विपद् व्यवस्थापनमा राजनीतिक दलहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको टिप्पणी गर्दै उनले सरकार एक्लैले काम गरिरहेको जस्तो देखिएको बताए । यद्यपि विपक्षी दलहरू सरकारको साथमा रहेको उनको भनाइ थियो ।
उनले विपद्पछिको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया