काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सबैलाई जुट्न आह्वान गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सहयोग गर्न सक्नेले सहयोगमा जुट्न र सहयोग गर्न नसक्नेले कम्तीमा कटु वचन नबोल्न आग्रह गरेका हुन् ।
‘मेरो एउटा अनुरोध छ सहयोग गर्न सक्ने सहयोगमा जुटौं । सहयोग गर्न सक्दैनौं भने पनि कम्तीमा कटु वचन कसैले नबोलौं,’ उनले भनेका छन् ।
थापाले केही दिनअघि बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा आफूले देखेको विपत्तिको अवस्था, खोज तथा उद्धारमा भइरहेका प्रयास र प्रभावित नागरिकका गुनासाबारे उनले भिडियोमा जानकारी दिएका छन् ।
उनले बाढीबाट भएको क्षति निकै ठूलो रहेको बताए । प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर हेर्दा मात्रै विपत्तिको वास्तविक अवस्था बुझ्न सकिने उनको भनाइ छ ।
‘यो यति ठूलो प्रलय, यति ठूलो विपत्ति हो कि यति धेरै घरबार उजाड गरेको छ, यति धेरै परिवार, मानिसहरू प्रभावित हुनुभएको छ । तल फिल्डमा गइसकेपछि अझ थाहा हुन्छ,’ उनले भने ।
विपत्तिको समयमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले उद्धार, राहत र पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
कांग्रेसको तर्फबाट प्रभावित क्षेत्रमा गरिएको स्थलगत निरीक्षणका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने जानकारी पनि उनले दिएका छन् । प्रतिवेदनमा सरकारले तत्काल गर्नुपर्ने काम तथा आगामी चरणमा पार्टीले गर्न सक्ने कामबारे सुझाव समेटिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया