भोटेकोशी बाढीको प्रारम्भिक क्षति पौने ४ खर्ब पुग्दा पुनर्निर्माणमा कति खर्च लाग्ला ?

लोकपथ
0
Shares
बाढीपछिको नुवाकोटको ढुंगे बजारको अवस्था

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट करिब २.५६ बिलियन अमेरिकी डलर अर्थात् ३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

रोयटर्सले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई उद्धृत गर्दै बाढीबाट सम्पत्ति, घर तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ ।

प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीका अनुसार बाढीपछि प्रारम्भिक पुनरुत्थानको पहिलो चार महिनामा सडक तथा अस्थायी टहरा निर्माण, खानेपानी आपूर्ति र विद्युत् सेवा पुनःस्थापनाका लागि करिब ५ करोड २६ लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

विभिन्न सम्बन्धित निकाय तथा विभागसँग समन्वय गरी क्षतिको प्रारम्भिक विवरण तयार पारिएको र यसको विस्तृत मूल्याङ्कन छिट्टै गरिने प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा कम्तीमा २० हजार घर पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको छ । तीमध्ये ७ हजार ५०० भन्दा बढी घर पूर्ण रूपमा नष्ट भएको प्राधिकरणको तथ्यांक छ ।

गत भदौ १० गते चीनसँगको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेपछि बरफ, ढुङ्गा र गेग्रानसहितको बाढी आएको थियो । उक्त बाढी त्रिशूली नदीमा मिसिँदै रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।

बाढीले बस्ती तथा गाउँ बगाउनुका साथै ठूलो मानवीय क्षति समेत गरेको छ । हालसम्म १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४ हजार २०० भन्दा बढी अझै बेपत्ता रहेको जनाइएको छ । बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?