काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरुले मुटु, कलेजोमा गम्भिर असर गर्ने बताएको छ ।
कोरोना संक्रमण रोक्न/नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सो मा गम्भिर असर गर्ने बताएका हुन्। उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायराम ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै औषधि नबनेको उल्लेख गर्दै मन्त्रालयले कोरोनाका नममा भ्रम नछर्न आग्रह समेत गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषय प्रति संकेत गर्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रकृया सुरु नभएको भन्दै थपे ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन ।
यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’’
संकटको अवस्थामा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर पर्खिने गरेको उनले बताए। भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गालामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेकपा स्थायी समिति सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गालामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमा समेत सो कुराको चर्को आलोचना भइरहेको छ ।
कोरोनाबाट नेपालमा २८ जनाको मृत्यु भयो
बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको कारण भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको बताए । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या तथा हाल कोभिड १९ को संक्रमणका कारण शनिवार बिहान ६ः३५ बजे उनको निधन भएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालमा मिति असार ११ गते बिहीवार राति १० बजे स्थानान्तरण गरिएको थियो ।
साथै यस अघि पनि कोभिड-१९ र क्यान्सरका कारण अस्पतालमा गत जेठ २७ गते ६८ वर्षीय पुरुषको निधन भएको थियो।
बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका ५५४ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।
बितेको २४ घण्टामा थप १३६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।
उनीहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया