काठमाडौं । भदौ १० को महाविपत्तिसँग जुध्न तीन तहका सरकारबिच समन्वयको अभाव देखिएको छ ।
रसुवा बाढीपछि सबै राजनीतिक दल, तीनै तहको सरकार आ–आफ्नो तर्फबाट लागि परिरहे पनि समन्वय अभाव हुँदा भने अनुसार काम हुन नसकेको गुनासो आइरहेको छ ।
केही समयअघि मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बनेका कृष्ण थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग समन्वय अभाव देखिएको गुनासो गरे ।
आइतबार रास्वपा पार्टी कार्यालय बनस्थलीमा रविसँग भेटगरी मुख्यमन्त्री थापाले तीन तहका सरकारबिच समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नो तरिकाले काम गरिरहेको बताए । साथै प्रधानमन्त्री बागमती प्रदेश अन्तर्गतका बाढी प्रभावित जिल्लामा जाँदा समेत प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले कुनै जानकारी नगराएको गुनासो गरे ।
‘तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन । जसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेका छौँ,’ मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै रविको सचिवालयले भनेको छ, ‘प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा दुख व्यक्त ।’
यसैगरी वर्तमान महाविपत्तिसँग जुध्न तीन तहको सरकारमा कुन सरकारले के काम गर्ने छुट्याउनु आवश्यक रहेको सुझाव दिए ।
साथै प्रभावित क्षेत्रमा प्रयाप्त मात्रामा राहत पठाउन नसकिएको, राहत सबै नुवाकोटको बट्टार र विदुरमा मात्रै थुप्रिएको उनले गुनासो गरे ।
‘तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ । प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथी पुर्याउन असहज भएको छ,’ मुख्यमन्त्री थापाले रविसँग भनेका थिए ।
यसैगरी जलवायु परिवर्तनको खसर लामो भएकाले खोला किनारबा बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढंगबाट काम गर्नुपर्ने देखिएको समेत बताएका थिए ।
यता पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले विपद्को बेला तीनै तहले भूमिका खेल्नुपर्ने र संघ र स्थानीय तहलाई जोड्ने पुलको काम प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिए ।
संघीय सरकारका तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसतर्फ सचेत रहेको बताए ।
‘यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाइ जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्छ । यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ । संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्न हामी प्रतिबद्ध छौँ,’ रविको सचिवालयले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया