नुवाकोट । भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले सक्रिय रुपमा भूमिका खेलिरहेको छ ।
बाढीपश्चात घाइते बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउनेदेखि विभिन्न सामग्री वितरण गरिरहेको छ ।
स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको रेडक्रस शाखा नुवाकोटले बाढी पश्चात आफ्नो परिवारसँग सम्पर्क विच्छेद भएका परिवारसँग सम्पर्क स्थापना गर्नेदेखि घाइतेको प्राथमिक उपचारका लागि भूमिका खेलिरहेको छ ।
पानीदेखि, खाद्य सामग्री, मृत शरिर व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नुवाकोट र रसुवाका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका घाइतेहरुलाई सेल्टरमा राखिएको छ । उनीहरुलाई आवश्यक भोजन र स्वास्थ्यसम्बन्धी व्यवस्थापन समेत रेडक्रसले मिलाइरहेको छ ।

नुवाकोटका प्रभावित स्थान विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा स्वयंसेवक परिचालन गरी प्रारम्भिक द्रुत लेखाजोखा गरी त्यसको प्रतिवेदन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको छ ।
रेडक्रसले विभिन्न निकायसँग समन्वय गरेर विद्युत प्रभावित स्थानहरुमा सोलार पठाइएको छ । भदौ १० को सबै भन्दा बढी बाढी प्रभावित जिल्ला हो रसुवा । जहाँ अहिले राष्ट्रिय राजमार्ग पूर्ण रुपमा सम्पर्क विच्छेद छ । वैकल्पिक माध्यमबाट केही दिनदेखि सडक सञ्जाल जोडिएको रसुवामा समेत रेडक्रसले आफ्नो काम थालेको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले आइतबारबाट आफ्नो टिम परिचालन गरेर पीडितलाई उद्धार, राहत, प्राथमिक उपचार र बसोबासको व्यवस्थापनका लागि भूमिका खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया