काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताएका छन् ।
बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकमा उनले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सभापति थापाले जाजरकोट भूकम्प लगायतका विगतका विपद्हरूबाट सिकेको ज्ञानलाई संस्थागत गर्नुपर्ने बताए ।
पार्टीका कार्यकर्ताहरूलाई तालिम दिएर मैदानमा खटाउँदा त्यसले राहत र उद्धारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल भएको नाताले विपद्को समयमा सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्ने तर सरकारका कमजोरी औंल्याउन पछि नहट्ने थापाले प्रस्ट पारे ।
उनले पार्टीका तर्फबाट बुझाइएको ९ बुँदे ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराए । विपद् व्यवस्थापनमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिए । विशेषगरी राहत वितरणमा स्थानीय सरकारलाई नै नेतृत्व सुम्पिनुपर्ने उनको तर्क छ । स्थानीय आवश्यकता, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका विशिष्ट समस्याबारे स्थानीय तह नै बढी जानकार हुने भएकाले उनीहरूलाई ‘बाइपास’ गर्न नहुने उनले बताए । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई ‘टिम प्लेयर’का रूपमा लिएर स्पष्ट कार्यविभाजन गर्नुपर्ने उनको माग छ ।
सभापति थापाले विपद्को यो समयमा तडकभडकपूर्ण कुनैपनि उत्सव वा महोत्सव नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सामाजिक सञ्जालमा लासका तस्बिर र हृदयविदारक भिडियो पोष्ट नगर्न उहाँले आग्रह गरे । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि आफू सहितको टोली सोमार नै प्रस्थान गर्ने जानकारी दिँदै थापाले यो अल्पकालीन समस्या मात्र नभएको बताए ।
उनले भने, ‘विगतका अनुभव र संस्थागत ज्ञानलाई नीतिगत रूपमै अगाडि बढाउन आवश्यक छ । तालिमप्राप्त साथीहरूले अहिले मैदानमा गरिरहेको काम प्रशंसनीय छ । सरकार कहाँ चुकेको छ, त्यो देखाउनु हाम्रो कर्तव्य हो । कमजोरी नऔंल्याए नागरिकका समस्या सरकारसम्म पुग्दैनन् ।’
अभिभावकविहीन भएका बालबालिकाको पठनपाठन र उठिबास भएकाहरूको पुनःस्थापनाका लागि पार्टीले निरन्तर काम गर्ने उनले प्रतिवद्धता जनाए । बैठकमा सभापति थापाले पार्टीको विपद् व्यवस्थापन समितिलाई अब वडा तहसम्मको यथार्थ विवरण संकलन गरी कार्ययोजना बनाउन निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया