जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छ : ओली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्ने बताएका छन् ।

सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले जलवायुजन्य तथा पर्वतीय विपद्मा नेपालजस्ता देशको योगदान न्यून रहे पनि त्यसको ठूलो असर यिनै मुलुकले भोग्नुपरेको बताए । वातावरण विनाशमा बढी योगदान गर्ने विकसित देशले त्यसबाट उत्पन्न क्षतिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

उनले आफूले संयुक्त राष्ट्रसंघमा समेत जलवायुजन्य क्षतिको विषय उठाउँदै आएको उल्लेख गरे । तर, यस विषयमा अन्तर्राष्ट्रिय समुदायको पर्याप्त ध्यान जान नसकेको उनले बताए ।

रसुवा बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्राप्त गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै ओलीले विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुका साथै जलवायु क्षतिपूर्तिको विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।

उनले कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने तर त्यसको असरबाट ठूलो क्षति व्यहोर्ने नेपालजस्ता देशका लागि कार्बन ट्रेडको अवधारणालाई न्यायको अंगका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

ओलीले रसुवा बाढीलाई तत्कालको विपद्का रूपमा मात्र नहेरी भविष्यमा आउन सक्ने अझ ठूलो जोखिमको संकेतका रूपमा बुझ्नुपर्ने बताए । उनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?