मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट हालसम्म ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण हालसम्म ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत डा बिकास देवकोटाले विरगञ्जमा उपचारका क्रममा निधन भएका वृद्धको कोरोना पोजेटिभ आएको बताए ।

देवकोटाका अनुसार वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सोमवार मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी हुन् ।

मन्त्रालयका अनुसार उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएको थियो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।

तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

परीक्षण रिपोर्ट शंकास्पद आएपनि उनको मृत्यु पश्चात अस्पतालले उनको शव उनका परिवार तथा आफन्तलाई बुझाइएको थियो । र उनको गत जेठ ५ गते दाहसंस्कार गरिसकिएको छ ।

यस अघि अन्य ३ जनाको पनि कोरोनाको कारण ज्यान गइसकेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके र गुल्मीका गरी ३ जनाको कोरोनाको कारण ज्यान गएको हो ।

पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला

गत जेष्ठ ३ गते शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार जेष्ठ ३ गते साँझ पशुपति आर्यघाटमा गरिएको थियो । उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको थियो ।

कोरोनाका कारण उनको मृत्यु पछि उनका श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन । मृतक महिलाका श्रीमान, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ ।

यो पनि पढ्नुहोस्:  कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु

दोस्रो मृतक बाँकेका

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेष्ठ ३ गते बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् : क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

तेस्रो मृतक गुल्मीका शिक्षक

प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । साथै उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् ।

गुल्मी मदाने गाउँपालिकाका वडा नं९६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।

उक्त गाउँपालिकामा विदेशबाट आएका अन्य मानिसहरुको समेत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेभिट आएको थियो । तर गाउँबाट कतैपनि टाढा नगएका उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ । साथै, मदाने गाउँपालिका सील गरिएको थियो ।

यो पनि पढ्नुहोस् :क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

यस्तो छ सरकारको कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कार्यविधि:

कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ । सोही कार्य्विधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव र बाँके नरैनापुर गाउँपालिकाका युवकको शव व्यवस्थापन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्य्विधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ । शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

यो पनि पढ्नुहोस् :कोरोनाबाट मृत्यु भएका युवकको शव व्यवस्थापन कसरी गरीन्छ ? यस्तो छ कार्यविधि

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेका अनुसार नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा पीसीआर टेष्ट गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो ।

त्यस्तै डा पाण्डे अनुसार , दोस्रो केसको हकमा पनि सुरुमा टेष्ट गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल र सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो ।

यो पनि पढ्नुहोस् :  कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु, जनस्वास्थ्यविद् डा. पाण्डेका टिप्ससहित

जनस्वास्थ्यविद् डा.पाण्डेको निस्कर्ष – नेपालका विभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष छ ‘टास्क फोर्स’ बनाऔँ

नेपालमा हालसम्म ६ सय ८२ जानमा कोरोना संक्रमण देखिएको छ । ती मध्य ६०२ जना पुरुष तथा ८० जना महिला रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये १ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा आज मात्र ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?