काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दक्षिणकालीमा रहेको नमुना डेरीलाई कारबाही गरेको छ ।
विभिन्न जनगुनासोपछि विभागको टोलीले गरेको अनुगमन गर्दा कैफियत भेटिएपछि कारबाही गरेको हो ।
उत्पादन मिति लेबलमा नराखिएको गुनासोपछि विभागको टोलीले अनुगमन गर्दा पूर्ण लेबल नभएको करिब २०० प्याकेट पाँचसय एमएल दुध चिस्यान कक्षमा पाइएको थियो । उक्त डेरीले खाद्य अनुमतिपत्र समेत नलिइ प्रशोधित दुध उत्पादन तथा बिक्रीवितरण गरेको पाइएको विभागकी प्रवक्ता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
उनका अनुसार प्रशोधन कक्ष व्यवस्थित नभएको तथा साँघुरो रहेको र प्रशोधन कक्षको भुइँ टायल फुटेको तथा पानी जम्ने अवस्थामा रहेको पाइएको छ ।
के भयो कारबाही र निर्देशन ?
प्रवक्ता शर्माका अनुसार डेरीलाई विभागबाट अनुमति पत्र लिएर मात्र उत्पादन तथा बिक्री वितरण गर्न र सो अवधिभर उद्योगमा उत्पादन, प्रशोधन तथा बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।
पूर्ण लेबल विवरण नभएका करिब दुई सय प्याकेट ५ सय मिलिलिटरको दुध तथा पच्चीस केजी र्यापर नष्ट गरिएको छ ।
यसैगरी नमुना डेरीलाई ७ दिनभित्र स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया