काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ ।
बाढीका कारण प्रभावित भएका समुदाय तथा विद्युत क्षेत्रसँग आफूहरु सँगै रहेको बताउँदै सहयोगका लागि इप्पान तयार रहेको जनाएको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बाढीका कारण वेपत्ता तथा प्रभावित सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा विद्युत आयोजनामा कार्यरत कामदारहरूको उद्धार कार्य जारी रहेको अवस्थामा उद्धार तथा राहतमा खटिनुभएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सबै सरोकारवालाप्रति इप्पान हार्दिक धन्यवाद व्यक्त गर्दछ । यस विपद्को घडीमा ऊर्जा उत्पादकहरूको संस्था इप्पान प्रभावित समुदाय तथा विद्युत क्षेत्रसँगै रहेको र आवश्यक सहयोगका लागि तयार रहेको स्पष्ट गर्दछ ।’
इप्पानका अनुसार हालसम्म रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी नुवाकोट जिल्लामा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजनासमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन् ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सबै सुरक्षा निकायलाई आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया