नाडामा गाडी किन्ने ग्राहकलाई बैंकहरुको अफरै अफर, अटो लोनमा कसको ब्याज कति ?

लोकपथ
0
Shares

काठमाडौं । नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन खरिदकर्ताका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत सुस्त भएपछि बैंकहरूले सवारी कर्जा विस्तारलाई प्राथमिकता दिएका हुन् । बैंकहरूले कम ब्याजदर, स्थिर ब्याजदर, न्यून सेवा शुल्क तथा छिटो कर्जा प्रवाहजस्ता सुविधा अघि सारेका छन् ।

भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विद्युतीय तथा पेट्रोलियम सवारीका नयाँ मोडल सार्वजनिक भइरहेका छन् । यही अवसरलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले छुट्टाछुट्टै फाइनान्सिङ योजना ल्याएका छन् ।

नेपाल बैंकले सबैभन्दा कममध्ये ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । बैंकले बेस रेटमा ०.४९ प्रतिशत प्रिमियम थप गरी उक्त ब्याजदर कायम गरेको हो । कर्जा प्रशासनिक शुल्क ०.५ प्रतिशत लाग्नेछ ।

ग्लोबल आइएमई बैंकले ५.१७ प्रतिशत ब्याजदरमा ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ । यसमा ०.५० प्रतिशत रिस्क प्रिमियम समावेश छ भने सेवा शुल्क ०.५० प्रतिशत रहेको छ । बैंकले सात वर्षको कर्जामा पहिलो तीन वर्ष ५.१७ प्रतिशत स्थिर ब्याजदरको विकल्पसमेत दिएको छ ।

प्रभु बैंकले बेस रेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेको छ । बैंकको हालको बेस रेट ४.९४ प्रतिशत रहेको छ ।

एनआईसी एसिया बैंकले सात वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन दिने योजना ल्याएको छ । कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ ।

कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ ।

नबिल बैंकले नयाँ सवारीसाधन खरिदका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन योजना ल्याएको छ । बैंकका अनुसार सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

मुक्तिनाथ विकास बैंकले भने बेस रेटमै अटो लोन दिने योजना ल्याएको छ । बैंकको हालको बेस रेट ५.५४ प्रतिशत रहेकाले ग्राहकले ५.५४ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन् । ‘बेस रेट प्लस शून्य प्रतिशत’ को योजना भदौ मसान्तसम्म लागू हुने र आवश्यक कागजात पूरा भए २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

कृषि विकास बैंकले अटो कर्जामा प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । बैंकको हालको बेस रेट ४.६६ प्रतिशत रहेको छ।

माछापुच्छ्रे बैंकले बेस रेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेको छ । कर्जाको अधिकतम अवधि १० वर्षसम्म रहनेछ ।

लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन योजना ल्याएको छ । सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीसाधनका लागि सात वर्ष अवधिको ५.०२ प्रतिशत ब्याजदरको अटो लोन उपलब्ध गराएको छ ।

नेपाल एसबीआई बैंकले बेस रेटमा ०.४० प्रतिशत प्रिमियम थप गरी ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन दिइरहेको छ ।

सिद्धार्थ बैंकले नाडा अटो शो अवधिभर बुकिङ गरिएका सवारीसाधनका लागि ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा विशेष कर्जा योजना ल्याएको छ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ ।

महालक्ष्मी विकास बैंकले पनि अटो शो अवधिमा सवारी कर्जाको प्रशासनिक शुल्कमा विशेष छुट दिने जनाएको छ । बैंकको भदौ महिनाको आधारदर ५.६४ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिदका लागि ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन योजना ल्याएको छ । यसमा प्रोसेसिङ शुल्क ०.५० प्रतिशत रहेको छ ।

नाडा अटो शोका कारण बैंक तथा वित्तीय संस्थाबीच सवारी कर्जामा प्रतिस्पर्धा थप बढेको देखिएको छ । ग्राहक आकर्षित गर्न बैंकहरूले ब्याजदर घटाउनुका साथै स्थिर ब्याजदर, सेवा शुल्कमा छुट, सरल प्रक्रिया र छिटो कर्जा प्रवाहलाई प्राथमिकता दिएका छन् ।

तर, अटो लोन लिँदा ग्राहकले प्रकाशित ब्याजदर मात्रै नभई प्रिमियम, सेवा तथा प्रशासनिक शुल्क, ब्याजदर स्थिर वा परिवर्तनशील रहेको अवस्था र कर्जाको समग्र लागतसमेत हेर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?