क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या २ पुगेको छ । आज बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।

क्वारेन्टाइनमा बसेका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार सङ्कलन गरिएको थियो । स्वाब परिक्षणका क्रममा मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भईसकेको छ भने ३६ जना स्वास्थ्योपचार पछ निको भएर घर फर्किएका छन् ।

नेपालका कूल संक्रमित मध्ये २३६ जना पुरुष र ५५ जना महिला संक्रमित रहेका छन् ।

आज (आईतवार) मात्रै नेपालमा १० जना कोरोना संक्रमित थपिएका छन् भने हिजो (शनिवार) पहिलोपटक नेपालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?