भोटेकोशी बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दुःख व्यक्त गरेको छ ।

नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी र श्रमिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा राहतका काममा सरकारसँग मिलेर सहयोग गर्न तयार रहेको जनाएको छ ।

रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार र अटोमोबाइल सामानको आपूर्तिका लागि महत्वपूर्ण नाका हो । बाढीका कारण भन्सार क्षेत्रमा रहेका व्यवसायीका सवारीसाधन तथा अन्य सामानमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको नाडाले जनाएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

बाढीका कारण सडक, पुल, भन्सार र अन्य व्यापारिक पूर्वाधारमा क्षति पुगेकाले देशको आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने नाडाको भनाइ छ । त्यसैले नाडाले सरकारले तत्काल क्षतिको विस्तृत मूल्याङ्कन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधार छिटो पुनःनिर्माण गरी केरुङ नाकाबाट हुने व्यापार सहज बनाउन नाडाले सरकारको ध्यानाकर्षण गराएको छ ।

नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रिया पनि सहज र छिटो बनाउन माग गरेको छ । प्रभावित व्यवसायीलाई आवश्यक सहयोग र सहजीकरण गर्न निजी क्षेत्र तयार रहेको नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?