नेकपाभित्र चर्कियो रडाको : प्रधानमन्त्री भन्छन्, वारपार हुन्छ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बुधबार बसेको बैठकले एउटा निर्णय गर्‍यो । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने।
दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। सचिवालय बैठकले रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक सिटका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गरेको थियो । नेकपाले उनैको ठाउँमा गौतमलाई लैजान लागेको थियो ।

वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले राखेका थिए। बैठकमा मौन जस्तै रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा पहिल्यै सल्लाह गरेर आउने गरेको भन्दै असन्तुष्टि भने जनाएको स्रोत बताउँछ ।

सचिवालय बैठकमा प्रचण्डले ‘अब राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने कुरा सकिइसक्यो तर वामदेव कमरेड राष्ट्रियसभामा जानुपर्छ,’ भनेको सचिवालय बैठकमा सहभागी
एक नेताले बताए । उनको प्रस्तावमा अरू सदस्यले सही थापेपछि निर्णय भएको थियो।

निर्णय सार्वजनिक भएसँगै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन एक हप्ता मात्र बाँकी रहँदा नेकपा सचिवालयले यो निर्णय गरेपछि गौतमलाई खतिवडाको ठाउँमा पठाउन लागिएको बुझे। तर यसको एक घण्टामा अर्को ट्वीस्ट आयो ।

अर्थात् सचिवालय निर्णय सार्वजनिक भएको केही घन्टा नबित्दै वामदेवलाई राष्ट्रियसभामा लैजानेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको चरम असन्तुष्टि देखियो । प्राप्त जानकारी अनुसार सचिवालय बैठक सकिएको केही घन्टापछि प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर कुनै पनि हालतमा यो कुरा स्विकार्य नहुने संकेत गरे ।

‘तपाईंहरूले मलाई धेरै पेल्नुभयो। म वामदेवलाई सिफारिस गर्दिनँ, खतिवडालाई नै निरन्तरता दिन्छु,’ ओलीले नेपालसँग फोन संवाद गरे । त्यसपछि नेकपाको भाँडभैलो छताछुल्ल भयो ।

सचिवालयको निर्णयबारे थप छलफल गर्न प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर पनि असन्तुष्टि जनाए । वामदेवलाई राष्ट्रियसभाका लागि प्रस्ताव गर्दिन। उनको यो अभिव्यक्ति एकाएक सार्वजनिक भयो। वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारीबारे  ओली जसरी जानकार थिए, त्यसरी नै  ओलीले लिने अडानबारे अन्जान थिए वामदेवलाई लैजान चाहनेहरु।

गत शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थासहित संविधान संशोधन गर्न नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो।
उक्त कार्यदल आजको सचिवालय बैठकले भंग गरिदिएको छ।

यता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहानै भनेका थिए पार्टी सचिवालयले गरेको निर्णय कसैले उल्ट्याउन सक्दैन, वामदेवको विषयलाई लिएर प्रधानमन्त्रीको अप्रत्यासित रेस्पोन्स पाएपछि नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता श्रेष्ठले लोकपथसँग भने, उपाध्यक्षलाई राष्ट्रिय सभामा लैजाने निर्णय भइसकेको हो। तर आफ्ना विरुद्ध खेल भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका छन् । आफू निकटकासँगको भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताएका छन् ।

सचिवालयमा ओली अल्पमतमा

कुनैबेला सचिवालयमा सबैभन्दा शक्तिशाली रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली यतिखेर सचिवालयमा निकै अप्ठेरोमा परेका छन् ।

वामदेव गौतमका लागि सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल एकातिर छन्। प्रधानमन्त्री ओलीका साथमा भने इश्वर पोखरेलमात्र प्रस्ट रुपमा देखिएका छन्। त्यसबाहेक उनका पक्षमा खुलेर कोही पनि देखिएका छैनन्। पार्टीका महासचिव विष्णु पौडेल कतै पनि देखिएका छैनन्। उनी डबल स्ट्याण्डर्ड प्रवृतिका देखिन्छन् । उनी कुनै पक्ष लिनुपर्ने अवस्थामा पुगे भने बहुमततिर लाग्छन् ।

स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको विषयलाई बेमौसमी बहसको संज्ञा दिँदै ओलीको लाइनलाई स्थापित गर्न हिजैदेखि अभिव्यक्ति दिइरहेका छन्।
मंगलवार राति करिब १० बजे उनले ट्वीट समेत गरेका थिए ।

रक्षा मन्त्री इश्वर पोखरेलले पनि प्रधानमन्त्रीको लाइनलाई साथ दिँदै राति नै ट्विट गरेका थिए। तर तिनले काम गरेनन् । त्यसो त प्रचण्डको प्रस्तावमा मौन रहेका उनले ‘पछिल्ला घटनाक्रमहरू जसरी विकसित भएका छन्। मेरोविरुद्धको खेल हो। तर म सबै कुराको सामना गर्न तयार छु,’ भनेको स्रोत बताउँछ । उनले थपेका थिए ‘निर्णय त तपाईंहरूले गरेरै आउनुभएको थियो। ल भैइहाल्यो। वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजा‌औं। अरु निर्णय गर्दै जाउँला।’

सचिवालय बैठकमा हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले भने, ‘सँधै मेरो विरुद्ध खेल हुन्छ कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?