आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने, यी ११ सांसदले सोध्नेछन् प्रश्न

लोकपथ
0
Shares


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ । तर, यति लामो समय बितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए । विपक्षी दलको निरन्तर अडानपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्दै बुधबारका लागि प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

प्रधानमन्त्री शाहसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन् ।

प्रश्नोत्तरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बाँस्कोटा, अमरेशकुमार सिंह र कृष्णहरि बुढाथोकी, नेपाली कांग्रेसबाट वासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न गर्ने भएका छन् ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीले प्रश्न गर्ने भएका हुन्

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री शाहले केही समयअघि संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ निकै विवादित बनेको थियो । पूर्वतयारीबिना जवाफ दिएको भन्दै शाहको आलोचना हुँदै आएको छ ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?