बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

लोकपथ
0
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

यसअघि पटकपटक बैठक स्थगित भएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सारिएको हो । मुख्यमन्त्री थापाले आइतबारदेखि नै विश्वासको मत लिन खोजेका थिए ।

तर सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवादका कारण समस्या भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विवाद समाधान गरेर मात्रै विश्वासको मत लिन माग गरेको थियो ।

हिजो विश्वासको मत लिने तयारी भए पनि नेकपाका सात सांसद बैठकमा उपस्थित भएनन् ।

कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । तर सरकारलाई समर्थन गरेका दुवै दलभित्र अहिले आन्तरिक विवाद देखिएको छ ।

मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक छ । एमाले र नेकपाका सबै सांसदले समर्थन गरे पनि दुई मत कम हुने भएकाले राप्रपाका कम्तीमा नौ सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ ।

राप्रपा केन्द्रले बागमती सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले सरकारलाई समर्थन गरेपछि किरण थापा मुख्यमन्त्री बनेका हुन् ।

उक्त निर्णयविरुद्ध राप्रपा बागमतीकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौँडामा रिट दायर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?