आमासहित २ छोरीको विभत्स हत्या प्रकरण : शारीरिक सम्वन्ध, बिहे गर्छु भन्दै लगेका पूर्णबहादुरले…

काठमाडौँ । गत कात्तिक १६ गते शनिबार बिहानै गुल्मीको चन्द्रकोटमा एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटियो । तर २ हप्ता सम्म पनि उक्त घटना कसले किन गरायो भनेर खुल्न सकेन । नत शव नै पहिचान भयो ।

बुधबार साँझसम्म हत्या गरिएका तीनैजनाको पहिचान हुन सकेको थिएन । बिहिबार हत्याको रहस्यको पर्दाफास भएको छ भने मृतकको पनि पहिचान भएको छ । घटनाको कारण हो एक पुरुष र ती महिलाबीचको शारीरिक सम्वन्ध ।

हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । हत्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना । सरिता पोखरा महानगरपालिका–२५ स्थित फेदीमा रहेको एक होटलमा काम गर्दै आएकी थिइन् । उक्त होटलका बाग्लुङ्ग गल्कोट नगरपालिका–७ ज्यामिरे घर भएका ४६ वर्षीय पूर्णबहादुर सुनारको हो ।

होटल सञ्चालक पूर्णबहादुले सरितासँग शारीरिक सम्पर्क राख्दै आएका थिए । सरितासँगै अर्की एक महिला पनि पूर्णबहादुरको होटलमा काम गर्दै आएकी थिइन् । पूर्णबहादुरले होटलमा काम गर्न आउने ती महिलासँग शारीरिक सम्पर्क राख्ने गरेको खुलासा भएको छ ।

प्रायः महिलाहरुलाई विभिन्न प्रलोभन देखाउँदै शारीरिक सम्पर्क राख्ने गरेको पाइएको छ । पूर्णबहादुरले सरितालाई आफ्नो श्रीमती बनाउँछु भनेर शारीरिक सम्पर्क राख्दै आएको अनुसन्धानबाट खुलेको छ ।

कसरी भयो घटना ?
गत कात्तिक १६ गते पूर्णबहादुर र सरिता मोरङस्थित पूर्णबहादुरको घर जाने भन्दै होटलबाट निस्किएका थिए । ‘घर लगेर राख्छु’ भन्दै फकाएर पूर्णबहादुरले शान्तिपुर हुँदै सरितालाई लिएर आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

स्रोतका अनुसार पूर्णबहादुरले सरिताको हत्या गर्ने योजना अगाडी नै बनाइसकेका थिए योजनानुरूप नै उनले दुई जनालाई नै घटनास्थलमा बोलाएका थिए । सोही अनुरुप बाग्लुङ्ग र गुल्मीको सीमानामा पर्ने चन्द्रकोट गाउँपालिका–३, हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भीर जङ्गलमा ल्याएर तीन जनाले योजनाबद्द तरिकाले सरितासहित दुई छोरीहरुको विभत्स हत्या गरेका हुन् ।

सरिता र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनारसहित दुई जना पक्राउ परिसकेका छन् । पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरास्थित आफ्नै होटलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न एकजना फरार रहेको र फरार व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?