अनेरास्ववियूले गर्याे भारत विरुद्ध विरोध प्रर्दशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै बुधबार अपरान्ह काठमाडौंमा प्रर्दशन गरेको हो । त्यस क्रममा उनीहरुले भारतले अतिक्रमण गरेका नेपालका सबै भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग पनि खवरदारी गरेका छन । नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको अनेरास्वववियूका केन्द्रिय सदस्य टपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरिएको छ । त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?