काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने भएका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन (६३ सांसद) सहित उनी यही ४ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद रहेकाले थापाले विश्वासको मत पाउनेमा आशंका छ । राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरेर अरू ३ प्रदेश सभा सदस्यलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुख्यमन्त्रीलाई थापामाथि संकट आइपरेको हो । राप्रपाले निर्वाचनमा मत नदिन ह्विप नै जारी गरेको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन गरेकी छन् । सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ ।
यसैले उनीसँग एमालेको २५ र नेपाली कम्युनिस्ट पार्टीको २६ सदस्य मात्रै छ ।
जबकि, ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम रहेकाले मुख्यमन्त्रीलाई ५३ मत आवश्यक छ ।
बागमती प्रदेशमा हाल नेपाली कांग्रेसको ३६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
उता, एमालेले दिएको विश्वासको मत फिर्ता लिएपछि एक महिनाका लागि भए पनि हाम्रो नेपाल पार्टीबाट अघिल्ला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारमा एक सदस्य मन्त्री भएकाले थापालाई यो पार्टीको समर्थन पनि नहुने सम्भावना छ । सरकार बनाउने खेलमा नलाग्ने भएकाले नेपाल मजदुर किसान पार्टीको तटस्थ भूमिका पनि मुख्यमन्त्रीका लागि परीक्षाको विषय बन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया