काठमाडौं । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।
शनिबार महायज्ञको अन्तिम दिन राष्ट्रपति पौडेलसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि विधिपूर्वक पूजा आराधना तथा दर्शन गरेका हुन् ।
मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भइरहेको धार्मिक अनुष्ठानमा शाक्य–बज्राचार्य गुरुहरूबाट विशेष शान्ति स्वस्ति पाठ, पूजाआजा तथा अग्निहोम भइरहेको छ ।
श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भइरहेको महायज्ञको मुख्य उद्देश्य विश्वशान्ति, प्राकृतिक विपत्तिबाट पृथ्वीको रक्षा, लोककल्याण तथा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गर्नु रहेको आयोजकले जनाएको छ ।
महायज्ञमा वज्रयान बौद्ध परम्पराअनुसार संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा, सुकुन्दा पूजा, ध्यान, जप, सूत्रपाठ तथा अग्निहोमलगायत धार्मिक विधि समावेश गरिएको छ ।
हालै पुनर्निर्माण गरिएको कनक चैत्य महाविहार परिसरमा आयोजित यस धार्मिक कार्यक्रमले काठमाडौंको मौलिक बौद्ध परम्परा, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्राचीन बस्ती जनबहालमा अवस्थित कनक चैत्य महाविहार सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचित छ । सेतो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वर तथा करुणामयका रूपमा पूजा गर्छन् भने हिन्दू धर्मावलम्बीले पनि श्रद्धापूर्वक आराधना गर्ने परम्परा छ ।
वर्षा, सहकाल र लोककल्याणका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको धार्मिक महत्त्वले नेपालमा विद्यमान धार्मिक सहिष्णुता, सहअस्तित्व र सांस्कृतिक एकताको उदाहरण प्रस्तुत गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया