शान्ति प्रक्रियालाई पूर्णता दिन सबै पक्ष जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको दिन मङ्सिर ५ को अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।

२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट बनेको राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन् ।

उनका अनुसार विस्तृत शान्ति सम्झौताकै आधारमा संविधानसभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् । तर सम्झौतामा उल्लेख गरिएका सबै प्रतिबद्धता अझै कार्यान्वयन हुन नसकेको उनले बताएका छन् ।

विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुङ्ग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ ।

शान्ति सम्झौताको उद्देश्य द्वन्द्व अन्त्य गर्नु मात्रै नभई पीडितलाई न्याय दिनु, समाजमा मेलमिलाप कायम गर्नु र सुशासनसहित समृद्ध राष्ट्र निर्माण गर्नु पनि रहेको प्रचण्डले स्पष्ट पारेका छन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन् । साथै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन् ।

शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?