गरिमा विकास बैंकको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न, ९ हजारभन्दा बढी धावक सहभागी

लोकपथ
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले आयोजना गरेको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ७ गते शनिबार काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट प्रतियोगिता सुरु भएको थियो ।

बैंकका अनुसार यस वर्षको प्रतियोगितामा महिला तथा पुरुष गरी ९ हजारभन्दा बढी धावक सहभागी भएका थिए । खुला र कर्पोरेट गरी ८ वटा विधामा दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको दौड सञ्चालन गरिएको थियो । प्रतियोगिता बालुवाटारबाट सुरु भई काठमाडौंका विभिन्न सडक हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय परिसरमा पुगेर सम्पन्न भएको थियो ।

१० किलोमिटर खुला दौडका विजेता

पुरुषतर्फ १० किलोमिटर दौडमा प्रथम हुने धावकले ३३ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दोस्रो हुनेले ३३ मिनेट ४६ सेकेन्डमा दौड पूरा गर्दै २५ हजार र तेस्रो हुनेले ३४ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दै २० हजार रुपैयाँ पाएका छन् ।

महिलातर्फ प्रथम हुने धाविकाले ३५ मिनेट ५९ सेकेन्डमा दूरी पूरा गर्दै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

कर्पोरेट दौडका विजेता

कर्पोरेटतर्फ पुरुष र महिलाको ५ किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने धावक तथा धाविकालाई नगद पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई मेडल र प्रमाणपत्रसमेत दिइएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष विप्लव प्रताप खाँड, सञ्चालक समितिका सदस्य, पूर्व सञ्चालक, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा धावकहरूको सहभागिता रहेको थियो ।

बैंकले वार्षिकोत्सवको अवसरमा देशका ९ स्थानमा रक्तदान कार्यक्रमसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?