चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड

लोकपथ
0
Shares

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मध्यपुर थिमीमा नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा बोल्दै उनले बदलिँदो समयअनुसार चुनावी प्रचारशैली पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले अहिले सूचना प्रविधिको युग भएकाले यसको प्रयोग गर्न जान्नुपर्ने बताए । प्रविधिको प्रयोग गर्न नसके चुनावमा पछि पर्न सकिने भन्दै उनले भाषण र सभामा मात्रै सीमित नहुन सुझाव दिए ।

प्रचण्डले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । राजनीतिक दलसँग छलफल र परामर्श गरेर सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

उनले पार्टीका कार्यक्रमलाई लामो र भद्दा बनाउनुभन्दा छोटो, व्यवस्थित र विषयवस्तुमा केन्द्रित गर्नुपर्ने बताए । पार्टी संगठनलाई बलियो बनाउन र वैचारिक स्पष्टता कायम गर्न देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?