काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणअघि अन्य राजनीतिक दलसँग परामर्श नगरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वको भ्रमणअघि सबै दलसँग छलफल गरेर साझा धारणा बनाउनुपर्ने बताएका छन् ।
उनले सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाउनु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ ।
शर्माले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको बताएका छन् । राष्ट्रिय हितका विषयमा व्यापक छलफल र समझदारी भए अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने उनले उल्लेख गरेका छन् ।
कांग्रेसले सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको जनाएको छ ।
विज्ञप्तिमा भ्रमणलाई क्षणिक लोकप्रियता वा प्रचारमा सीमित नगरी राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।
कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सफल होस् भन्दै शुभकामना दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया