एन्फा निलम्बन फुकुवाबारे फिफा सकारात्मक, अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को तहगत निर्वाचन गराउने विषयमा पनि सहमति भएको जानकारी दिएका हुन् ।

उनका अनुसार एन्फाको निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना (रोडम्याप) पठाउनेछ ।

मन्त्री पोखरेलले एन्फाको निलम्बन फुकुवाको प्रक्रिया फिफाले नै अघि बढाउने बताए । तर, निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति गठन गरेर अघि बढ्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको छ । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषय टुङ्गिन बाँकी छ ।’

मन्त्री पोखरेलका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफेरेन्स)का रूपमा बुझ्दै आएको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।

‘राज्यले गर्ने काम आफैँ गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले हस्तक्षेप गर्दैनौँ भनेर उहाँहरूलाई जानकारी गरायौँ । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो,’ उनले भने ।

सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको मन्त्री पोखरेलको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?