काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सदस्यता लिने प्रक्रियालाई सहज बनाउन मोबाइल एपबाटै सदस्यता लिन सकिने व्यवस्था सुरु गरेको छ ।
अब नयाँ सदस्य बन्न चाहने व्यक्तिले मोबाइल एपबाटै फारम भरेर सदस्यता लिन सक्नेछन् । यसअघि सदस्यता लिन रेडक्रसका कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले कार्यालय धाउनुपर्ने झन्झट हटाउने रेडक्रसले जनाएको छ ।
रेडक्रसका अनुसार मोबाइलको प्लेस्टोरबाट ‘एनआरसीएस’ एप डाउनलोड गरेर नयाँ सदस्यता लिन वा पुरानो सदस्यता अद्यावधिक गर्न सकिनेछ। एपमार्फत आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि डिजिटल परिचयपत्र र प्रमाणपत्रसमेत प्राप्त गर्न सकिनेछ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले अब सदस्यता लिन कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको बताए। उनका अनुसार एपमार्फत नै सदस्यता फारम भर्न र आवश्यक प्रक्रिया पूरा गर्न सकिन्छ ।
रेडक्रसको सदस्यता वितरण प्रक्रिया पारदर्शी नभएको भन्दै लामो समयदेखि प्रश्न उठ्दै आएको थियो। सदस्यता वितरणमा सिन्डिकेट रहेको आरोपसमेत लाग्दै आएको थियो । यसलाई सुधार गर्न सरकारले मोबाइल एप निर्माण गरी सदस्यता वितरण प्रक्रिया सहज र पारदर्शी बनाउन निर्देशन दिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीमा १२ लाखभन्दा बढी सदस्य रहेको बताइएको छ । सरकारले सबै सदस्यलाई अनलाइनमार्फत आफ्नो सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ। सदस्यता अद्यावधिक गरेपछि मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाले सदस्यहरूको विवरण व्यवस्थित बनाउनुका साथै सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै, डा. भण्डारी नेतृत्वको समितिले सरकारको निर्देशनअनुसार संस्थागत सुधार र पुस्तान्तरणलाई लक्षित गरी संशोधन गरेको रेडक्रसको विधान अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
रेडक्रसले नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता अद्यावधिक गर्न मोबाइल एप प्रयोग गर्न सबै सदस्यलाई आग्रह गरेको छ । एप प्रयोगमा समस्या आएमा सोसाइटीसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया