सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

लोकपथ
0
Shares

सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरका सञ्जय रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । इटहरीबाट दुहबीतर्फ जाँदै गरेको मोटरसाइकलले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चारै जनाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?