काठमाडौं । बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएको भन्दै बर्खास्तीमा परेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका छन् ।
उनले आफूलाई बर्खास्त गर्ने निर्णयमा पुनर्विचार गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका हुन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएको स्रोतले बतायो ।
एआईजी दाहाललाई गत असोज २३ गते बर्खास्त गरिएको थियो । त्यसअघि असोज १९ गते उनलाई निलम्बन गरिएको थियो । सशस्त्रकै एआईजी अञ्जनीकुमार पोखरेलको एकल छानबिन समितिको सिफारिसका आधारमा असोज २३ गते उनलाई पदबाट बर्खास्त गरेको थियो । उनलाई सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले छानबिन गरेर बर्खास्त गरेको थियो ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो । जबरालाई पक्राउ गरेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा पुगेर भेटेको विषयसमेत सार्वजनिक भएको थियो ।
गृहको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र मन्त्रिपरिषदमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ । सोहीबमोजिम उनले पुनरावेदनको निवेदन दिएका हुन् ।
सशस्त्र प्रहरीमा एआईजीको पदावधि चार जोड एक रहेको छ । उनको चार बर्से पदावधि भने असोज २७ गते सकिँदै थियो । निलम्वनमा पर्नुअगाडि सशस्त्र मुख्यालयले एक वर्ष म्याद थपका लागि गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको अवस्था थियो ।
तर इनमसँग जोडिएपछि उनले चार वर्षे कार्यकाल समेत पूरा गर्न पाएनन् । आचरणविपरितका गतिविधि गरेको भन्दै उनी कारबाहीमा परेका हुन् ।
मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया