जगदम्बा मोटर्सले खोल्यो टीभीएसको प्रिमियम शोरुम

लोकपथ
0
Shares

काठमाडौं । टीभीएस नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नयाँ शोरुम उद्घाटन गरिएको हो ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन् ।

शोरुम उद्घाटनका अवसरमा मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल वितरण गरेको छ ।

नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताललाई मोटरसाइकल प्रदान गरिएको कम्पनीले जनाएको छ । यसबाट बाढी प्रभावित क्षेत्रमा सेवा प्रवाह र पुनःस्थापनाको काममा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कार्यक्रममा कलाकार सौगात तामाङले तयार पारेको विशेष हेल्मेट पनि प्रदर्शन गरिएको थियो । नेपाली कला र सिर्जनशीलतालाई टीभीएसको प्रिमियम ब्रान्डसँग जोड्ने उद्देश्यले हेल्मेट तयार पारिएको कम्पनीले जनाएको छ ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल आफ्नो कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताए । नयाँ शोरुम सञ्चालनले नेपालमा लगानी बढाउने र ग्राहकलाई थप सुविधा दिने प्रतिबद्धता देखाएको उनको भनाइ थियो ।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो साझेदारीले नेपाली बजारमा ब्रान्डको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बिक्रीपछिको सेवा र ग्राहकसँगको सम्बन्धलाई थप बलियो बनाउने बताए ।

नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल, विद्युतीय सवारीसाधन, आधिकारिक गियर तथा अन्य सामग्री उपलब्ध हुनेछन् ।

शोरुममा टीभीएस अपाचे आरटीआर २०० फोर भी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० फोर भी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्युब र टीभीएस अर्बिटर राखिएका छन् ।

विश्वका ९० भन्दा बढी देशमा व्यवसाय गर्दै आएको टीभीएस मोटर कम्पनीले नेपालमा जगदम्बा मोटर्ससँगको सहकार्यमा १५ वर्षदेखि कारोबार गर्दै आएको छ । नयाँ शोरुममार्फत कम्पनीले प्रिमियम तथा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?