काठमाडौं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गरिने स्पष्ट पारेको छ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार आयोजित छलफलमा निर्वाचनको सम्भावित मिति र तयारीका विषयमा परामर्श गरिएको आयोगले जनाएको छ ।
छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने संवैधानिक व्यवस्थाबारे दलका नेताहरूसँग छलफल भएको जानकारी दिए । उनका अनुसार सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श गरिएको हो ।
यस विषयमा दलहरूले आन्तरिक छलफलपछि निर्वाचन आयोग र सरकारलाई ठोस सुझाव दिने विश्वास दिलाएको प्रवक्ता भट्टराईले बताए ।
उनले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राखेको जानकारी दिए । साथै, आयोगले मतदाता नामावली व्यवस्थित र त्रुटिरहित बनाउन गरेका सुधारात्मक प्रयासबारे पनि दलका नेताहरूलाई जानकारी गराइएको उनले बताए ।
मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उनले नामावलीलाई थप व्यवस्थित बनाउने काम अघि बढाइएको जानकारी दिए ।
प्रवक्ता भट्टराईले देशको कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी भए पनि मतदाता नामावलीमा पुरुष मतदाताको सङ्ख्या बढी देखिएको विषय पनि छलफलमा उठाइएको बताए । मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषयबारे दलका नेताहरूलाई जानकारी गराइएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया