बैंक तथा वित्तीय क्षेत्रको साइबर सुरक्षा बलियो बनाउन ‘ग्लोबल एआई ग्रान्ट’ घोषणा

लोकपथ
21
Shares

काठमाडौं । नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा अनुसन्धान संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था र बीमा क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।

वित्तीय क्षेत्रमा एआईको प्रयोग बढ्दै जाँदा देखिएका साइबर जोखिम, डेटा चोरी र गोपनीयतासम्बन्धी समस्या कम गर्ने उद्देश्यले यो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्थाले अनुदान कार्यक्रमको उद्देश्य र प्राथमिकताका क्षेत्रबारे जानकारी दिएको हो । यस कार्यक्रममार्फत नेपालमा सुरक्षित र भरपर्दो एआई प्रविधिको विकास गर्नुका साथै अनुसन्धान र प्रविधिको क्षेत्रमा स्वदेशी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सीएसआरआई नेपालका अध्यक्ष डा.शालिग्राम पराजुलीका अनुसार यस कार्यक्रमले वित्तीय क्षेत्रका चार विषयलाई प्राथमिकता दिएको छ । जसमा साइबर ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी रोकथाम, वित्तीय कारोबारको सुरक्षा र ग्राहकको व्यक्तिगत विवरणको गोपनीयता कायम राख्ने विषय रहेका छन् ।

त्यस्तै, युवा अनुसन्धानकर्ता, डेटा वैज्ञानिक र साइबर सुरक्षा विज्ञलाई अनुसन्धानको अवसर दिने तथा नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायलाई नीति निर्माणमा सहयोग पुग्ने गरी सुझाव उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ ।

कार्यक्रमअन्तर्गत चार मुख्य क्षेत्रमा अनुसन्धान गरिनेछ । पहिलो, एआईमार्फत साइबर आक्रमण र जोखिमको पहिचान गरी बैंकहरूलाई समयमै सचेत गराउने प्रणाली विकास गरिनेछ ।

दोस्रो, बैंक तथा वित्तीय संस्थाका ग्राहकको व्यक्तिगत विवरण सुरक्षित राख्ने प्रविधि विकास गरिनेछ । तेस्रो, शंकास्पद वित्तीय कारोबारको पहिचान गरी ठगी र आर्थिक नोक्सानी रोक्ने उपाय खोजिनेछ ।

त्यस्तै, चौथो क्षेत्रमा बैंकिङ सेवा र कर्जा मूल्यांकनमा प्रयोग हुने एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जिम्मेवार बनाउने विषयमा अनुसन्धान गरिनेछ ।

संस्थाका अनुसार यस कार्यक्रमले बैंक तथा वित्तीय संस्थाको साइबर सुरक्षा बलियो बनाउनुका साथै ग्राहकको वित्तीय विवरण सुरक्षित राख्न सहयोग गर्नेछ । यसबाट वित्तीय संस्थाको सञ्चालन खर्च घटाउन र साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

यसका साथै नेपालमै अनुसन्धानको वातावरण विकास गर्ने, विश्वविद्यालयका अनुसन्धानकर्ता र वित्तीय क्षेत्रबीच सहकार्य बढाउने तथा दक्ष जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस अनुसन्धान अनुदानमा सहभागी हुन इच्छुक अनुसन्धानकर्ता, विज्ञ तथा विद्यार्थीले सीएसआरआई नेपालको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?