डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

लोकपथ
84
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन् ।

मिलर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।

कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो ।

३७ वर्षीय बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमताका लागि परिचित छन् ।

उनले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित २ हजार ८०४ रन बनाएका छन् । त्यस्तै, १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित ४ हजार ७६२ रन जोडेका छन् ।

समग्र टी–२० क्रिकेटमा मिलरको प्रदर्शन अझ प्रभावशाली छ । उनले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

उनले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । मिलरलाई विश्व क्रिकेटका अनुभवी र विस्फोटक ब्याटरमध्ये एक मानिन्छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?