विदेशमा रहेका नेपालीको सुरक्षा गर्नु राज्यको दायित्व हो : विद्या भण्डारी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले समयमै सहयोग र उद्धार गर्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताइन् ।

भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले नेपाल जलस्रोत, वन, जडीबुटी, कृषि, खनिज र प्राकृतिक सम्पदाले धनी भए पनि यी स्रोतसाधनको सही उपयोग गर्नुपर्ने बताइन् । प्राकृतिक स्रोतको संरक्षण गर्दै जलविद्युत्, कृषि, खाद्य प्रशोधन, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ छ ।

यस्ता क्षेत्रमा लगानी बढाएर देशमै रोजगारी सिर्जना गर्न र आयात घटाउँदै निर्यात बढाउन सकिने उनले बताइन् ।

भण्डारीले विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् । त्यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउन, नीतिगत स्थिरता कायम गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

उनले नेकपा एमालेले लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्न तथा सामाजिक र आर्थिक विकासमा योगदान गर्दै आएको पनि बताइन् । देश र जनताको हितमा पार्टीले गरेका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?