काठमाडौं । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढ्ने भएको छ ।
यसका लागि उपचारभन्दा रोग लाग्न नदिन जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने नीति लिएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा बसेको बैठकमा नसर्ने रोगको अवस्थाबारे छलफल भएको थियो ।
बैठकले नसर्ने रोग नियन्त्रणका लागि सबै मन्त्रालयसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ । साथै, कार्ययोजनाको कार्यान्वयनबारे नियमित समीक्षा बैठक गर्ने पनि निर्णय भएको छ ।
बैठकमा स्वस्थ जीवनशैली अपनाउन जनचेतना फैलाउने, स्थानीय तहसँग सहकार्य गर्ने र विद्यालय तहदेखि नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो । विशेषज्ञ चिकित्सकलाई नेपालमै काम गर्ने वातावरण बनाउने विषय पनि उठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारण मानिएको छ । यस्ता वस्तुको प्रयोग नियन्त्रण र नियमन गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा बैठकले जोड दिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारसँगै रोकथाम, जनचेतना र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिने भएको छ ।
नेपालले सन् २०३० सम्म नसर्ने रोगका कारण हुने अकाल मृत्यु एक तिहाइले घटाउने लक्ष्य पनि लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया