काठमाडौं । मोरङको उत्तर तथा दक्षिण पूर्वी क्षेत्रमा विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको दुहवी–दमक खण्डमा जोडेर सबस्टेसन सञ्चालन गरिएको हो ।
केरौन सबस्टेसनमा ६३ एमभीए क्षमताका दुईवटा र २२.५ एमभीए क्षमताको एउटा गरी तीनवटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । यसको कुल क्षमता १४८.५ एमभीए रहेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि मोरङ र आसपासका क्षेत्रमा बढ्दो विद्युत माग पूरा गर्न सहज हुनेछ । साथै, विद्युत आपूर्ति थप गुणस्तरीय र भरपर्दो बन्नेछ ।
सबस्टेसनबाट रङ्गेली र विराटचोक क्षेत्रमा विद्युत पुर्याउन ३३ केभीका चारवटा लाइन निर्माण गरिएका छन् । यी लाइन तिहारअघि नै सञ्चालनमा ल्याउने तयारी छ। त्यसैगरी, स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका पाँचवटा फिडर लाइन पनि निर्माण गरिएका छन् । ती लाइनसमेत छिट्टै सञ्चालनमा ल्याइनेछ ।
सबस्टेसन सञ्चालनमा आएपछि कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत आपूर्ति सुधार हुने अपेक्षा गरिएको छ । विशेषगरी लामो दूरीबाट विद्युत ल्याउनुपर्ने बाध्यता हट्ने भएकाले कम भोल्टेज आउने, बत्ती जाने र लाइन ट्रिपिङ हुने समस्या घट्नेछ । विद्युत आपूर्ति नियमित र सुरक्षित हुनुका साथै प्राविधिक चुहावटसमेत कम हुने विश्वास गरिएको छ ।
केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनामा नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र एसियाली विकास बैंक (एडीबी) को लगानी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया