कर्णाली । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।
शे–फोक्सुण्डो तालको अवलोकन भ्रमण सकेर माथिल्लो डोल्पातर्फ गएका उनीहरू केही दिनदेखि परेको भारी हिमपातका कारण दानीगढमा फसेका हुन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।
उनका अनुसार पर्यटकहरू फसेको क्षेत्रमा सञ्चार नेटवर्क नहुँदा उनीहरूसँग प्रत्यक्ष फोन सम्पर्क हुन सकेको छैन । उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको सम्पर्कमा भने रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले पर्यटकहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत पहल भइरहेको जानकारी दिइन् ।
माथिल्लो डोल्पामा प्रतिकूल मौसमका कारण जोखिम बढेपछि गत कात्तिक १२ गतेदेखि नै सबै पदयात्रीलाई त्यस क्षेत्रमा जान रोक लगाइएको थियो । तर, उक्त प्रतिबन्धको बेवास्ता गर्दै पर्यटकहरू माथिल्लो डोल्पातर्फ गएको बताइएको छ ।
प्रशासनले हिमपातका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया