मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, के भने मौसमविदले ?

लोकपथ
77
Shares

काठमाडौं । असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । सम्भावित मौसमजन्य विपद्को जोखिमबारे गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमविद्सँग जानकारी लिएका छन् ।

दुवै मन्त्री मंगलबार बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग छलफल गरेका हुन् । छलफलमा आगामी मौसमको अवस्था, सम्भावित जोखिम र विपद्बाट बच्न अपनाउनुपर्ने तयारीबारे जानकारी लिइएको थियो ।

मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेको छ । यसको प्रभावका कारण देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा उल्लेख्य हिमपात हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ । यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने चेतावनी दिइएको छ ।

त्यस्तै, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णालीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने सम्भावना छ । उनले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन र उच्च हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेकी छन् ।

भारी वर्षाका कारण बाढी, डुबान, नदी कटान र पहिरोको जोखिम बढ्न सक्ने विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपातका कारणसमेत यात्रा प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

राति र लामो दूरीको यात्रा नगर्न आग्रह

मौसम विभागले विशेष मौसम बुलेटिन जारी गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सम्भावित विपद्को व्यवस्थापनका लागि संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आवश्यक तयारी अवस्थामा रहन भनिएको छ ।

त्यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकमा अवरोध आए तत्काल हटाउन सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विपद् व्यवस्थापनमा सरकारको तयारीबारे आलोचना भइरहेका बेला फेरि जलजन्य विपद्को जोखिम बढेको हो । त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै प्रतिकार्यको तयारी गर्न विज्ञहरूले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?