काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्रै सञ्चालनमा ल्याउने गरी सडक विभागले काम अघि बढाएको छ । विभागका अनुसार अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीले गल्छीदेखि स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत पूरा भएसँगै यातायात सञ्चालनमा आएको छ। सो स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया पूरा गरी निर्माण व्यवसायीले काम सुरु गरिसकेको छ ।
त्यस्तै, रातोमाटेमा बाढीले करिब २०० मिटर सडक कटान गरेको थियो । उक्त क्षेत्रमा ‘ब्याक कटिङ’ गरेर सडक सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । नुवाकोटको देवीघाटमा नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालनमा आएको छ ।
विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये नौ किलोमिटर सञ्चालनमा आइसकेको छ । करिब ३०० मिटर क्षेत्रमा भने पहिरोका कारण सडक अवरुद्ध छ ।
उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरेर दुवैतर्फबाट ट्र्याक खोल्ने काम सुरु गरेको छ । केही दिनमै सो स्थानमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको विभागले जनाएको छ ।
त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान गर्नुपर्नेछ। दुवै स्थानमा बेलीब्रिज जडान भएपछि गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुने विभागको भनाइ छ ।
बेत्रावतीमा पुरानो पुल रहेकै स्थानमा बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ। त्यसका लागि पुरानो फाउण्डेसन भेटिएकाले त्यसको मर्मतपछि नेपाली सेनासँग रहेको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ ।
महानिर्देशक जैसीका अनुसार त्यसअघि विदुर–बेत्रावती सडकको निर्माण पूरा गर्नुपर्नेछ ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म भने सडकमा ठूलो समस्या नरहेको विभागले जनाएको छ। स्याफ्रुबेँसीमा भने बेलीब्रिज जडान गर्नुपर्नेछ ।
स्याफ्रुबेँसीमा करिब ९० मिटर लामो पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ । त्यसका लागि डिजाइनको काम सुरु भइसकेको विभागले जनाएको छ ।
यसैबीच, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको करिब १५ किलोमिटर सडकखण्ड बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ । उक्त क्षेत्रमा सडक पुनर्निर्माणका लागि सर्भेक्षण सुरु भइसकेको विभागले जनाएको छ ।
यता, बाढीबाट क्षतिग्रस्त मुग्लिन–गल्छी सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम पूरा भएको छ । उक्त स्थानमा अहिले दुईतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया