काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघ (यूएन) को महासभामा भाग लिन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका हुन् ।
०८२ साल चैत १३ गते प्रधानमन्त्री बनेका बालेनको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यसअघिका अधिकांश प्रधानमन्त्रीहरुले मुलुकको कार्यभार सम्हालेपछि छिमेकी देशहरु भारत र चीनमा पहिलो विदेश भ्रमण गर्ने गरेका थिए । तर प्रधानमन्त्री बालेनले परम्परा तोड्दै अमेरिकाबाट विदेश भ्रमण सुरु गरेका हुन् ।
त्यसो त यसअघि संयुक्त राष्ट्र संघको ८१औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको प्रतिनिधिमण्डल मात्र अमेरिका जाने तय भएको थियो । तर गत भदौ १० को भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन आफैँ अमेरिका जान तयार भएका हुन् ।
प्रधानमन्त्री बालेनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहेका छन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहनेछ ।
यद्यपि परराष्ट्रमन्त्री खनाल केही दिनअघि नै अमेरिका पुगिसकेका छन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ ।
राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरु विदेश भ्रमण गर्दा विमानस्थलमा बिदाइ गर्ने प्रचलन रहेको थियो । तर प्रधानमन्त्रीले भने ‘गार्ड अफ अनर’ लगायत कुनै पनि सम्मान र बिदाइ बिना अमेरिका प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनका लागि नेपालले भोगिरहेको समस्याका बारेमा प्रधानमन्त्रीले विश्वका नेताहरुसामु आफ्नो धारणा राख्नेछन् । जलवायु न्यायका लागि प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय मन्चमा नेपालको तर्फबाट आफ्नो धारण राख्ने अपेक्षा गरिएको छ ।
न्यून कार्वन उत्सर्जन गर्ने मुलुक नेपालले जलवायु परिवर्तनको कारण ठूलो समस्या भोगिरहेको छ । विश्वका धनी राष्ट्रहरुले गर्ने कार्वन उत्सर्जनको असर नेपालका हिमालहरुमा परिरहेको र त्यसको असर गत भदौ १० को भोटेकोशी नदीमा आएको बाढी पनि एक प्रमुख रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया