काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानबाट क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीको विवरण संकलन गर्न थालेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै बाढी तथा डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुममा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको बताएका छन् ।
व्यवसायीलाई राहत, बीमा दाबी भुक्तानी तथा ऋण पुनर्संरचनामा सहजीकरण गर्ने उद्देश्यले नाडाले आफ्ना सदस्य कम्पनीलाई क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
नाडाका अनुसार व्यवसायीले क्षति भएका वा हराएका तथा सम्पर्कविहीन सवारीसाधनको संख्या र प्रकार, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाकाको विवरण उपलब्ध गराउनुपर्नेछ ।
यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएको सम्पत्तिको विवरण तथा आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण र अन्य प्रत्यक्ष क्षतिको विवरण पनि पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था र भन्सार कार्यालयसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।
नाडाले बीमा दाबी प्रक्रिया छिटो अघि बढाउन तथा ऋण पुनर्संरचना र भुक्तानी अवधि पुनरावलोकनका लागि नीतिगत पहल गर्ने जनाएको छ ।
व्यवसायीका समस्या समाधान गर्न आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी समस्या सम्बन्धित निकायसम्म पुर्याइने अध्यक्ष उप्रेतीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया