बाढीपहिरो पीडितका लागि क्षेत्री समाज यूकेले दियो २३ लाख ८२ हजार

लोकपथ
0
Shares

काठमाडौं । क्षेत्री समाज यूके तथा क्षेत्री वेलफेयर फाउन्डेसन यूकेले नेपालमा आएको बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि २३ लाख ८२ हजार ६१८ रुपैयाँ सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधिले आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।

गत अगस्ट २६ मा आएको बाढीपहिरोबाट प्रभावित, विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानका परिवारलाई राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले बेलायतमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको क्षेत्री समाज यूकेका अध्यक्ष क्याप्टेन टेक जीसीले बताए ।

सांसद सोम शर्माको समन्वय तथा सहयोगमा भएको रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाज यूकेका तर्फबाट बैकुण्ठ कुँवर, अधिवक्ता रोश्नी केसी र कानुनका विद्यार्थी एडमण्ड सिंह बस्नेत सहभागी थिए ।

संस्थाका अनुसार बेलायतमा रहेका नेपाली समुदाय, क्षेत्री समाज यूकेका सदस्य, शुभेच्छुक तथा विभिन्न दाताको स्वस्फूर्त सहयोगबाट उक्त रकम संकलन गरिएको हो ।

रकम ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि बेलायतबाट आर्थिक सहायता जुटाएकोमा क्षेत्री समाज यूके, क्षेत्री वेलफेयर फाउन्डेसन यूके तथा सम्पूर्ण दाताप्रति धन्यवाद व्यक्त गरे ।

सहयोग अभियान सफल बनाउन भूमिका निर्वाह गर्ने सांसद सोम शर्मा, प्रिन्टमेकर काठमाडौंकी अनु योगी, स्वयंसेवक तथा सम्पूर्ण दाताप्रति क्षेत्री समाज यूकेले आभार व्यक्त गरेको छ ।

अध्यक्ष क्याप्टेन टेक जीसीद्वारा जारी विज्ञप्तिमा नेपाल विपद्को कठिन घडीमा रहेका बेला सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरिएको छ ।

क्षेत्री समाज यूकेले नेपालमा प्राकृतिक विपद् तथा संकट उत्पन्न हुँदा बेलायतस्थित नेपाली समुदायलाई एकीकृत गर्दै मातृभूमिप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?