३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँको दुई महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाउने भएको छ ।

केन्द्रीय बैंकले भदौ २२ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी बोल पेस गर्नुपर्नेछ ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँका दरले सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । कुल आह्वान रकमसम्म बाँडफाँट हुने गरी बोल स्वीकार गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । समान ब्याजदरमा परेको बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ ।

बोलकबोलमा स्वीकार भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भने २०८३ कात्तिक २० गते भुक्तानी गरिनेछ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिच्न पछिल्लो समय विभिन्न अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

बोलकबोलमार्फत संकलित रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा रहने भए पनि अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यद्यपि, तोकिएको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने उक्त रकम गणना गर्न पाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?