काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व एक महिनामै ८२ अर्ब ७५ करोड रुपैयाँले बढेको छ । साउन मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति ३९ खर्ब ५७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यो ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकको कुल सम्पत्ति साउनमा २.१३ प्रतिशतले बढेको हो । यसको मुख्य कारण विदेशी मुद्रा सम्पत्तिमा भएको वृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउन मसान्तसम्म राष्ट्र बैंकसँग ३८ खर्ब १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सम्पत्ति छ । यो राष्ट्र बैंकको कुल सम्पत्तिको करिब ९६ प्रतिशत हो ।
राष्ट्र बैंकले विदेशी मुद्रा सम्पत्तिको ठूलो हिस्सा विभिन्न वित्तीय उपकरणमा लगानी गरेको छ । साउन मसान्तसम्म विदेशी धितोपत्रमा २६ खर्ब ६० अर्ब ६७ करोड रुपैयाँ लगानी पुगेको छ । असारमा यस्तो लगानी २६ खर्ब २३ अर्ब २८ करोड रुपैयाँ थियो । अर्थात् एक महिनामा ३७ अर्ब ३९ करोड रुपैयाँ थप लगानी भएको छ ।
त्यस्तै, विदेशी बैंकमा रहेको मुद्दती निक्षेप पनि बढेको छ । साउन मसान्तसम्म यस्तो निक्षेप ६ खर्ब ३६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । असारमा यो ६ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकले सुन प्रमाणपत्रमा गरेको लगानी पनि बढाएको छ । साउन मसान्तसम्म सुन प्रमाणपत्रमा २ खर्ब ६२ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ। असारमा यो २ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँ थियो । एक महिनामा सुन प्रमाणपत्रमा ३७ अर्ब ४३ करोड रुपैयाँ थपिएको हो ।
यता, विदेशी बैंकमा रहेको नगद तथा मौज्दात भने घटेको छ । असारमा २५ अर्ब ३५ करोड रुपैयाँ रहेको यस्तो रकम साउनमा घटेर २३ अर्ब ६२ करोड रुपैयाँमा आएको छ ।
राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि बढेको छ । असारमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप साउनमा बढेर ४ खर्ब ३६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसरी एक महिनामा ४४ अर्ब २१ करोड रुपैयाँले निक्षेप बढेको हो ।
सरकारको राष्ट्र बैंकमा रहेको निक्षेप पनि बढेको छ । असारमा १ खर्ब ८६ अर्ब रुपैयाँ रहेको सरकारी निक्षेप साउन मसान्तमा बढेर २ खर्ब ४२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्र बैंकको रिजर्भ पनि बढेको छ । असार मसान्तमा १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँ रहेको रिजर्भ साउनमा बढेर १० खर्ब ९३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। एक महिनामा रिजर्भ ७ अर्ब ८६ करोड रुपैयाँले बढेको हो । राष्ट्र बैंकको पुँजी भने ५ अर्ब रुपैयाँमा यथावत् छ ।
समग्रमा, राष्ट्र बैंकले आफ्नो विदेशी मुद्रा सम्पत्तिको ठूलो हिस्सा विदेशी धितोपत्र, विदेशी बैंकको मुद्दती निक्षेप र सुन प्रमाणपत्रमा लगानी गरेको देखिन्छ। यसरी विदेशी मुद्रा सञ्चितिलाई विभिन्न क्षेत्रमा लगानी गरेर व्यवस्थापन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया