राजनीतिक विवाद होइन, अर्थतन्त्र सुधारमा केन्द्रीत हुन सरकारलाई गगनको आग्रह

लोकपथ
14
Shares

धुलिखेल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन् ।

काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रीत बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताएका हुन् ।

‘वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,‘सभापति थापाले भने ।

उनले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक संकट रहेको उल्लेख गर्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताए ।

‘नेपालका बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन सकेको छैन, सानाठूला व्यवसायी ऋण तिर्न नसकेर भाग्ने अवस्थामा छन् र किसानसमेत समस्यामा परेका छन् । वर्तमान अवस्थामा सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ,‘उनले भने ।

फरक प्रसङ्गमा कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै उनले यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताए ।

आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उनले प्रदेशका नेताकार्यकर्तालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले गुट भत्काउने र पार्टी बनाउने नीतिमा अघि बढिरहेको बताए ।

‘विशेष महाधिवेशनमा सहभागी नभएकालाई समेटेर जिम्मेवारी दिइँदै गइएको छ, यसलाई पार्टी एकताको सङ्केतका रूपमा लिनुपर्छ,‘उनले भने ।

विशेष महाधिवेशनका सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी नभएकालाई समेटेर क्रमशः जिम्मेवारी दिइँदै गएकाले थपलाई पनि समेटिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?