नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्छ : प्रकाशशरण महत

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि नेतृत्व थप जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

नेता महतले आफूहरू पार्टीभित्र कुनै पनि प्रकारको विग्रह नचाहने र सदैव एकताको पक्षमा रहेको स्पष्ट पारे । विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने कानुनी र नैतिक दायित्व रहेको उल्लेख गर्दै उनले एक पक्षीय ढंगले पार्टी सञ्चालन गर्न नहुने बताए ।

उनले पार्टीलाई व्यक्ति केन्द्रित नभई संस्थागत रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागेको उल्लेख गर्दै कार्यकर्तालाई कुनै भ्रममा नपर्न आग्रह गरे । पार्टी विभाजन गर्ने कुनै मनसाय नरहेको स्पष्ट पार्दै उनले एकताका लागि नेतृत्वले निश्चित आधार तय गरी त्यसप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।

महतले भने, ‘हामी पार्टी एकताको पक्षमा छौँ र कुनै पनि अवस्थामा विग्रह चाहँदैनौँ । तर वर्तमान नेतृत्वले सबैलाई मिलाएर लैजाने जिम्मेवारी भुल्नु हुँदैन । हामीले चाहेको मात्रै हुन्छ भन्ने सोच राखेर योगदान दिएका नेता–कार्यकर्तालाई बेवास्ता गर्नु गलत हुन्छ । यसले पार्टीलाई फाइदा पुर्‍याउँदैन ।’

त्यस्तै, उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहमतिका आधारमा ‘साझा संयन्त्र’ निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?