नेपालमा लगानीको अवसर छैन भन्ने धारणा गलत छ : चन्द्रप्रसाद ढकाल

लोकपथ
35
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर नभएको भन्ने धारणा गलत भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे । उनले नकारात्मक सोच हटाउन महासंघले विभिन्न पहल गरिरहेको जानकारी दिए ।

उनका अनुसार सोही प्रयासअन्तर्गत १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ । उक्त कम्पनीमार्फत पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा लगानी सुरु भइसकेको उनले बताए ।

महासंघले महिला उद्यमी, युवा, स्टार्टअप तथा साना–मझौला व्यवसायलाई प्रोत्साहन गर्न विभिन्न इकाइहरू गठन गर्दै लगेको पनि उनले स्पष्ट पारे । देशभर महिला उद्यमीको सहभागिता बढ्दै गएको र ‘स्टार्टअप फोरम’मार्फत सहकार्य अघि बढाइएको उनको भनाइ छ ।

विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय व्यवसायीहरूसँग छलफल तीव्र बनाइएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नीतिगत सुधारमा जोड दिइएको बताए ।

ढकालका अनुसार निजी क्षेत्रको मुख्य प्राथमिकता रोजगारी सिर्जना हो । युवालाई स्वदेशमै अवसर प्रदान गर्न बजारको मागअनुसार पाठ्यक्रम निर्माण गर्न पहल भइरहेको उनले बताए। साथै, प्राविधिक तथा सीपमूलक शिक्षामा सरकारसँग सहकार्य गर्ने योजना पनि अघि सारिएको छ ।

निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

यस सम्बन्धमा महासंघले सरकारलाई अवधारणापत्र बुझाइसकेको र नयाँ सरकारले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी समेत उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?