काठमाडौं । राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहणपछि बिहीबार नै समितिको पहिलो बैठक बसेको छ । बैठकमा सभापति पौडेलले समितिको सफल कार्यसम्पादनका लागि सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उनले समितिको कामलाई प्रभावकारी बनाउन सचिवालयलाई चुस्त, दुरुस्त र स्फूर्त बनाउन आवश्यक स्रोत तथा साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले कर्मचारीहरूलाई उच्च व्यावसायिकता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।
समितिको कामबाट अपेक्षित नतिजा हासिल गर्ने मुख्य जिम्मेवारी सचिवालयको काँधमा रहेको उल्लेख गर्दै पौडेलले सचिव, सहसचिवलगायत प्रशासनिक नेतृत्वप्रति आफूले ठूलो आशा र भरोसा राखेको बताए ।
उनले समितिको काम संवेदनशील भएकाले सचिवालयलाई आवश्यक जनशक्ति, आर्थिक तथा अन्य स्रोतसाधनले सक्षम बनाउनुपर्नेमा जोड दिए ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहित गोरखा, चितवन र नवलपुरमा ठूलो जनधनको क्षति भएको थियो ।
विपद्बाट भएको क्षतिको समीक्षा, जोखिम न्यूनीकरणको तयारी, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनर्स्थापनालगायतका विषयमा अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको हो ।
समितिमा सांसदहरू कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् । प्रस्तावित समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ ।
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपद्बारे अध्ययन तथा अनुगमन गर्न प्रतिनिधि सभाले यसअघि नै संसदीय विशेष समिति गठन गरिसकेको छ । प्रतिनिधि सभाले समिति गठन गरेर काम अघि बढाएपछि राष्ट्रिय सभाले पनि छुट्टै संसदीय विशेष समिति गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया